औद्योगिक प्रदर्शनी–२०७९ को १० औं दिन दर्शकको भिडले प्रदर्शनी गेट बन्द गर्न बाध्य

मिति: 2079-07-16

बुटवल, १६ पुष । बुटवलमा जारी १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९मा आज शनिवार दर्शकहरुको भिड अहिलेसम्म कै अत्यधिक हुन पुग्यो । प्रदर्शनी स्थल बुटवल मण्डपको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रको क्षेत्र अवलोकन कर्ताहरुले भरिभराउ भएको थियो । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज प्रवेश र निकासकाद्वारहरु पनि थप गरिएको थियो । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ नेपाल उद्योग परिसंघको सहकार्यमा पुष७ गतेदेखि सञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शकहरुको अत्यधिक भिडलाई नियन्त्रण गरी सहज रुपमा अवलोकन गर्ने व्यवस्था मिलाउन आयोजकहरुलाई हम्मेहम्मे परेको थियो । दर्शकहरुको लगातारको आगमन प्रदर्शनी स्थलमा स्थानको अभाव भएपछि प्रवेशद्वार करिव १ घण्टा रोकेर व्यवस्थापन गर्नु परेको प्रदर्शनी प्रवन्धक यादव प्रसाद भण्डारीले बताउनु भयो । शनिवार प्रदर्शनी स्थलमा दर्शकहरु टिकट काटेर अवलोकन गर्न विहानैबाट ओइरो लाग्न थालेका थिए । सार्वजनिक विदा परेका कारण दर्शकहरुको भिड अत्याधिक हुने अनुमान गरिएको भए पनि आयोजकले अनुमान गरेको भन्दा धेरै दर्शक आएपछि एकछिन व्यवस्थापन गर्न समस्या परेको सदस्य सचिव हरि बहादुर खत्रीले बताउनु भयो । प्रर्दशनी स्थल भित्र रहेका स्टल क्षेत्र, मञ्च रहेको खुल्लाचौर र बाल उद्यानको क्षेत्रमा मान्छे उभिने ठाउँको अभाव हुन थालेपछि टिकट विक्री बन्द गर्दै करिव एक घण्टा प्रवेश रोकेर मानिसहरुलाई बाहिर पठाउने प्रवन्ध मिलाएको खत्रीले जनकारी दिनुभयो । प्रदर्शनी सचिवालयले दिएको जानकारी अनुसार शनिवार एकै दिन प्रदर्शनी अवलोकन गर्न १ लाख ५० हजार दर्शक मण्डपमा प्रवेश गरेको अनुमान गरिएको छ । प्रदर्शनी अवलोकन गर्न आउने दर्शकहरुलाई टिकट लिन सहज होस भन्दै आयोजकको तर्फबाट विहानै टिकट काउन्टर थप गरी प्रवेश टिकट विक्री गरिएको थियो । दर्शकहरुको भिड बढेपछि थप गरिएको टिकट काउन्टरबाट समेत टिकटको माग पुरा गर्न नसकिएको प्रदर्शनीका सहसंयोजक कृष्ण प्रसाद पराजुलीले बताउनु भयो । प्रदर्शनी अवलोकन क्षेत्रमा भिड बढेपछि कुनै दुर्घटना नहोस् भनेर आयोजकमुल समितिका सदस्यहरु सबै जना खटिनु भएको थियो । आजको दर्शकहरुको उपस्थितिलाई बुटवलमा हालसम्म आयोजना भएका प्रदर्शनीहरुमा सबैभन्दा धेरै रहेको अवलोलनकर्ताहरुले नै बताएका छन् । आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले दर्शकहरुको उपस्थितिले आगामी आयोजनाका क्रममा थप सचेत बनेर काम गर्ने प्रेरणा, जिम्मेवारी र उत्साह दिएको बताउनु हुन्छ । मण्डपको क्षमता भन्दा बढी दर्शहहरुको घुइँचो बढेको अवस्थामा टिकट विक्री बन्द गरी व्यवस्थापन गर्ने काम गरिएको थियो । मण्डप भित्रका दर्शकहरुलाई बाहिर निकाल्नका लागि २ वटा छुट्टै निकासको व्यवस्था गर्नु परेको थियो । दर्शकहरुको भिडका कारण बुटवल मण्डप पुरै भरिएको थियो । उता स्टलको बाटोमा हिडेका दर्शकहरुको भिडका कारण एक अर्कालाई धकेल्दै अगाडि बढ्ने अवस्था सिर्जना भएको थियो । सांस्कृतिक कार्यक्रम प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरुको छनौट चरण अन्तिममा पुगेको छ । राष्ट्रिय लोक दोहोरी गित प्रतियोगिताको फाइनल शुक्रवार भएको छ भने शनिवारबाट भजन प्रतियोगिता शुरु भएको छ । भजन प्रतियोगितामा लुम्बिनी प्रदेशका ८ समूहले प्रतिष्पर्धा गर्दैछन् । यता प्रदर्शनी आइडल–२०७९ प्रतियोगिता अन्तरगत अन्तिम टप ४ गायकको प्रस्तुती शनिवार भएको छ । शुक्रवार प्रतियोगितामा टप ५ सम्म पुगेका प्रतियोगिले आफ्नो प्रस्तुती राखेकोमा कपिलबस्तु वाणगंगाका किशोर विक छनौटबाट बाहिरिएका छन् । भोटिङका आधारमा छनौट हुने प्रतियोगितामा अब टप ४ का प्रतियोगिहरुको प्रस्तुति बाँकी छ । प्रतियोगिताको फाइनल भिडन्त पुष १८ गते हुनेछ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत शनिवार लोकदोहोरी गायक खेम सेन्चुरी, मानसिंह खड्का, लोकदोहोरी गायिका मन्जु पौडेल र अस्मिता डल्लाकोटी, नृत्य प्रशिद्धी ढकाल लगायतको प्रस्तुती रहेको थियो । आइतवार ¥यापर बाबु बिलिभर, ¥यापर ओफिम, हरिमाया रायमाझी, आधुनिक गायक रामहरि प्रेमी, लोक तथा दोहोरी गायक भरत क्षेत्री, नारायण बि.पि.,गायक तथा उद्घोषक दिपु मगर, डान्सर बबिता बोहोरा, आइडल उद्घोषक गोपाल, अधिकारी र उद्घोषक नारायण लेकाली लगायतको प्रस्तुति रहने छ ।