उर्जा बचत र समुचित प्रयोग सम्बन्धमा छलफल

मिति: बैशाख, १४, बुटवल

उर्जा बचत र समुचित प्रयोग सम्बन्धमा छलफल बैशाख, १४, बुटवल उद्योग संचालनको महत्वपूर्ण क्रच्चा पदार्थको रुपमा मानिने उर्जालाई कसरी बचत गर्न सकिन्छ र साथै सोको समुचित प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा उर्जा विज्ञ र उद्योगीहरुबीच विहिबार रुपन्देही उद्योग संघमा छलफल गरिएको छ । रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न छलफलमा जिआईजेड रिप परियोजनाका प्रतिनिधि डा.सञ्जय गोर्खाली, उर्जा दक्षता विज्ञ ज्ञानेन्द्र उपाध्याय, ग्रिन परियोजनाका सुदन कायस्थ र उर्जा दक्षता अर्थविद होमराज भट्टराईले उर्जाको महत्व, उचित प्रयोग र बचत लगायतका विषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीसँगै कार्यक्रममा उपस्थित उद्योगीहरुले राख्नु भएको जिज्ञासाहरु उपर टिम लिडर डा.सञ्जय गोर्खालीले स्पष्ट पार्नु भएको थियो । परियोजनाले उद्योगीहरुले हाल प्रयोग गरिरहेको विद्युत प्रवाहमा अन्जानमा हुने क्षतिलाई कम गर्न उर्जा अडिट गर्ने र अन्य प्राविधिक सहयोगहरु समेत प्रदान गर्ने विषयमा समेत गोर्खालीले जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्नुहुँदै रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोराले उद्योगीहरुका लागि उपयुक्त विषयको रुपमा रहेको उर्जा अडिटलाई उद्योगीहरुबीच सचेतना अभियानको रुपमा संचालन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, महासचिव हरिबहादुर खत्री, कार्यसमिति सदस्य सुमन बस्याल, युवराज आचार्य, राजु घिमिरे उद्योगी राजिव श्रेष्ठ, सुरेन्द्र चौधरी लगायतले आ—आफ्ना जिज्ञासा राख्नु भएको थियो । कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष दिलिप सापकोटाले उद्योगीहरुकै हकहितका लागि संचालन भइरहेको यस अभियानमा सहभागी बनी लाभान्वित हुनका लागि उद्योगीहरुसँग आग्रह गर्नु भएको थियो ।